धनुषाका सुरजदेव मलेसियामा मृत्युदण्डबाट जोगिए

0
47

भदौ २६गत्ते,जनकपुरधाम ।

मलेसियामा हत्या अभियोगको मुद्दा खेपिरहेका एक नेपाली युवा मृत्युदण्डको सजायबाट जोगिएका छन् । धनुषाका ३८ वर्षीय सुरजदेव साह तेलीलाई त्यहाँको पुत्रजायस्थित पुनरावेदन अदालतले मृत्युदण्डको सजाय परिवर्तन गरी जेल सजाय मात्र सुनाएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार अदालतले बिहीबार मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गरी १२ वर्ष जेल सजाय कायम गरेको हो । उनलाई दुई वर्षअघि २०२० मा इपो उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएपछि नेपाली दूतावासले पुनरावेदन गरेको थियो ।

मलेसियन नागरिक हुतन मेलिन्टाङको हत्या अभियोगमा तेली २०१६ डिसेम्बर २ मा पक्राउ परेका थिए । हुतन लोरी चालक थिए, तेली प्लान्टेसनका कामदार हुन् । बयानका क्रममा उनले आफूले हत्या नगरी शव व्यवस्थापनमा सघाएको बताएका थिए । तर, बयान पुष्टि गर्ने आधार नदेखिएको भन्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उनको पक्षमा बहस गर्दै आएकी कानुन व्यवसायी खरेन स्टेपहेन्सनले मृत्युदण्डबाट तेलीलाई जोगाउन सकिएको भन्दै खुसी व्यक्त गरिन् । ‘हामीले ६ वर्ष अदालतमा लड्नुपर्‍यो । निकै कडा मिहिनेतपछि उनलाई मृत्युदण्डबाट जोगाउन सफल भयौं,’ उनले भनिन्, ‘अब उनले आफ्नी श्रीमती र छोरासँग भेट्न पाउने भए ।’ उनका अनुसार अब ६ वर्षपछि तेली नेपाल फर्किन पाउनेछन् ।

 

नयाँ फैसलाको खबर सुनेर तेलीका परिवार खुसी भएका छन् । भाइको पक्षमा मुद्दा लड्न खेत बेचेर पैसा पठाएको सुरजदेवको दिदि अनिताको भनाइ छ । ‘६ महिना त मान्छे नै हरायो । परराष्ट्र मन्त्रालय गएपछि मात्रै जेलमा रहेको थाहा भयो,’ उनले भनिन्, ‘त्यतिखेर मुद्दा लड्न पैसा चाहिन्छ भनेपछि खेत बेच्नुपर्‍यो । ६ वर्ष अगाडि नै तीन लाख रुपैयाँ पठाएका थियौं ।’ पुनरावेदन गरेपछि भने परिवारले वकिलको खर्च बेहोर्नु नपरेको नेपाली दूतावासले जनाएको छ । ‘मलेसियामा व्यावसायिक वकिलको खर्च निकै महँगो छ । परिवारले वकिल खर्च उपलब्ध गर्न सक्ने क्षमता छैन भनेर दूतावासले पुनरावेदन अदालतलाई लेखेर पठाएको थियो,’ दूतावासका सूचना अधिकारी प्रतीक कार्कीले भने, ‘त्यसपछि अदालतले नै अवैतनिक वकिल उपलब्ध गराएको हो ।’

कार्कीका अनुसार अन्य घटनामा मृत्युदण्ड पाएका तीन नेपाली मलेसियाका विभिन्न जेलमा छन् भने हत्या अभियोगका १३ जनामाथि मुद्दा चलिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here