माघ ८ गत्ते,जनकपुरधाम ।
जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । घटनामा संलग्न भएको आशंकामा दुई जना नेपाली नागरिक पक्राउ परेका हुन् । यस्तै भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको क्षेत्रीले जानकारी दिए ।
१३ दिनअघिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं। १३ निवासी २२ वर्षीय विष्णु साहको हत्या भएको थियो। मृतक दुवै जना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्ला गएको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तहरुले बताएका छन् ।
विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए ।