भदौ २६गत्ते,जनकपुरधाम ।
सरकारले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयले २०७९ भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन पाउने गरी आइतबार १ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो । म्यादीको कार्यअवधि ४० दिनको हुने छ ।
आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र चारवटै सुरक्षा निकाय चुनावी सुरक्षा तथा व्यवस्थापनमा जुटिसकेका छन् । त्यही क्रममा प्रहरी प्रधान कार्यालयले आइतबार म्यादी प्रहरी भर्ना आह्वानको सूचना सार्वजनिक गरेको हो ।
देशभरका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन पाइने छ । आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ, आतंककारी संगठनको सदस्य नरहेको, आँखाको हेर्ने क्षमता माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको, पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाइ भएका, गर्भवती नभएका र नरहेकाले आवेदन दिन सक्ने न्यूनतम योग्यता निर्धारण गरिएको छ ।
यसैगरी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन तथा २०७४ का स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्यादीमा भर्ना भई सन्तोषजनक काम गरेका, सेना, प्रहरी र सशस्त्र प्रहरी बल (पीएफ)का उपदान र निवृत्तिभरणमा निस्केका पूर्व सुरक्षाकर्मीहरू, पूर्ववन रक्षकहरू, विदेशी सुरक्षा निकायमा काम गरेको अनुभव भएका तथा २०७९ भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिलाई म्यादी छनौटको प्राथमिकतामा राखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दरखास्त अवधि सकिएको भोलीपल्ट अर्थात असोज ७ गते आबेदन दिएको ठाउमा सम्पर्क राख्नु पर्ने छ ।
म्यादीले ४० दिनको तलबरभत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैया पाउने छन् । स्थानीय तह निर्वाचनको तुलनामा म्यादीलाई करिब ६ हजार रुपैयाँ बढी दिन लागिएको हो ।
सबै राष्ट्रसेवकको तलब साउन १ बाट १५ प्रतिशत बढाएका कारण म्यादीले पाउने रकम पनि बढेको छ ।