आज कोजाग्रत पूर्णिमाः जानकी मन्दिरमा आइपुग्यो १०८ भार

0
103

आश्विन २३ गत्ते,जनकपुरधाम ।

​आज कोजाग्रत पूर्णिमा मनाउन जनकपुरको जानकी मन्दिरमा १०८ भारआइपुगेको छ ।

महोत्तरी रतौलीका स्वर्गीय ब्रह्मदेव ठाकुरको घरबाट यस वर्ष पनि विगत वर्षजस्तै १०८ भार जानकी मन्दिर आइपुगेको हो । फलफूल, मिठाई, दही, च्युरा, पान, मखानसहितका भार तथा पूजा सामग्री आएको मन्दिर स्रोतले जनाएको छ ।

करिब सयौं वर्षदेखि स्वर्गीय ठाकुरको घरबाट भार जानकी मन्दिर आउने गरेकोमा ठाकुरका छोरा नवीनले विगतको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि भार लिएर जानकी मन्दिर आइपुगेको बताए ।

कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा विशेष पूजा गर्ने चलन रहेको छ । कोजाग्रतको पूजा हेर्न जानकी मन्दिरमा नेपाल–भारतबाट थुप्रै साधुसन्तहरु आउने गरेका छन। । आज साँझ मन्दिरमा विशेष पूजा हुने उत्तराधिकारी महन्त रामरोशन दासको भनाइ छ ।

उनका अनुसार आज साँझ चन्द्रमाले अत्यधिक शितलता दिने भएकाले जानकी मन्दिरबाट भगवानलाई बाहिर निकालेर चुमाउने विधि हुन्छ । विशेष नाचगान हुने र मह, पान, मखानसहितका परिकार प्रसादका रूपमा वितरण हुने परम्परा छ ।

त्यस्तै मिथिलामा ब्राह्मण समुदायका नयाँ विवाहित बेहुलाको घरमा आजको दिन बेहुली पक्षबाट वस्त्र, च्युरा,दही,पान,मखान,माछा,मिठाई सहितको भार पठाइन्छ र तेही नयाँ वस्त्र लगाई बेहुलाको चुमाओन पश्चात भारमा आएको च्युरा,दही,पान,मखानको भोज गर्ने चलन पनि रहेको छ ।

दसैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ । भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here