मंसिर ४ गत्ते,जनकपुरधाम ।
धनुषाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य सुरू भएको छ ।आईतबार बिहान ७ बजेदेखि मतदान केन्द्रहरूमा मतदाताहरू शान्तिपूर्ण रूपले लामबद्ध भएर बसेका छन् ।
जिल्लाको ३२२ वटा मतदान स्थलका ६०५ मतदान केन्द्रमार्फत मतदान कार्य सुरू भइसकेको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएकोले ढुक्क भएर मतदान गर्न उनले सबै मतदातासँग अपिल गरेका छन् ।
धनुषाका चार निर्वाचन क्षेत्रमध्ये ५०० दशमलव ४९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निर्वाचन क्षेत्र नम्बर–१ मा १५१ मतदान केन्द्रमार्फत ६१ हजार ६३३ पुरुष र ५६ हजार ९९४ महिला गरि कूल १ लाख १८ हजार ६२८ जना मतदाताले आज आ–आफ्नो मताधिकारको प्रयोग गर्न लागेका छन् ।
त्यस्तै, २४७ दशमलव ६३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निर्वाचन क्षेत्र नम्बर–२ को १६५ मतदान केन्द्रमार्फत ६६ हजार ८१० पुरुष र ५७ हजार ९४४ महिला गरि १ लाख २४ हजार ७५५ मतदाताले मतदान गर्ने भएका छन् ।
१३५ दशमलव ५३ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा १४५ मतदान केन्द्रमार्फत ६२ हजार ८७ पुरुष र ५१ हजार ९१९ महिलासहित कुल १ लाख १४ हजार ९ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
त्यस्तै, ३०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा १४४ मतदान केन्द्रमार्फत ६२ हजार ३८५ पुरुष र ५४ हजार ८०८ महिला गरि कुल १ लाख १७ हजार १९५ जना मतदाताले मतदान गर्ने भएका छन् ।
धनुषाका ३२२ मतदानस्थल मध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ वटा र १७ वटा सामान्य मतदान स्थल छन् ।
प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को ९क० मा १४, ९ख० मा १४ र २ को ९क० मा १४ तथा ९ख० मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को ९क० मा २० र ९ख० मा २७ तथा ४ को ९क० मा १९ र ९ख० मा १३ जना उम्मेदवार छन् ।
धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी गरि कुल ८ जना कर्मचारी खटिएका छन् ।
निर्वाचन सुरक्षाका लागि धनुषामा ६ हजार सुरक्षाकर्मी परिचालित छन् । जसमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको छुट्टाछुट्टै टोलि खटिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनले जिल्लाभरिमा करिव १ सय भन्दा बढिको संख्यामा मोबाइल गस्ती टोलीसमेत परिचालन गरिएको बताए ।
जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्न लागेका छन् ।