उपेन्द्र,आरजु,गगन सहितका नेता एकभन्दा धेरै क्षेत्रबाट सिफारिस

0
10

भदौ २१ गत्ते,काठमाडौँ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवार चयनको प्रक्रिया अघि बढाएका छन् ।

उम्मेदवार चयनका लागि राजनीतिक दलका तल्ला तहका कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्नेक्रम छ ।

अधिकांश दलहरूले यही साताभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्न निर्देशन गरेका छन् । कानुनअनुसार अहिले एउटै व्यक्ति एकभन्दा धेरै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न पाइँदैन । तर दलहरूले भने एउटै व्यक्तिको नाम एकभन्दा बढी ठाउँबाट समेत उम्मेदवारका लागि सिफारिस गरेका छन् । नेताहरूले भने त्यसलाई कार्यकर्ताको चाहनाका रूपमा लिएका छन् ।

 

विभिन्न राजनीतिक दलका शीर्ष र लोकप्रिय नेताहरूको नाम पार्टीका तल्ला तहका कमिटीहरूले एकभन्दा बढी ठाउँबाट सिफारिस गरेका छन् । नेपाली कांग्रेसका नेता आरजु राणाको नाम पाँच क्षेत्रबाट सिफारिस भएको छ भने तीन क्षेत्रबाट महामन्त्री गगन थापा र दुई क्षेत्रबाट प्रवक्ता प्रकाशशरण महतको नाम सिफारिस भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नाम तीन क्षेत्रबाट सिफारिस भएको छ भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटका दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवको नाम ६ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।

दाहालको चर्चा गोरखा १ मा, नाम ४ क्षेत्रबाट सिफारिस

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बिहान धनगढीमा पत्रकारहरूसँगको कुराकानीमा आगामी चुनाव चितवन ३ बाटै उठ्ने बताएका छन् । तर पार्टीले भने ४ ठाउँबाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरेर पठाएको छ । चुनाव क्षेत्र फेरिरहने दाहालले ०७४ मा चितवन–३ बाट जितेका थिए ।

थापा काठमाडौं ४ मै उठ्ने, सिफारिस तीन क्षेत्रबाट

नेपाली कांग्रेसको महामन्त्री रहेका गगन थापा काठमाडौं–४ बाट चुनाव लड्ने तयारीमा छन् । ०६४ मा समानुपातिकतर्फ सांसद् बनेका उनी ०७० र ०७४ मा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, यसपटक थापालाई सर्लाही,सप्तरी र कास्कीका नेता कार्यकर्ताले समेत आफ्नो क्षेत्रबाट चुनाव लडिदिन आग्रह गर्दै उनको नाम सिफारिस गरी पठाएका छन् ।

सर्लाही क्षेत्र नं ४,सप्तरी-१ र कास्की क्षेत्र नं १ ले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ थापाको नाम सिफारिस गरेका छन् । अझ सर्लाही–४ ले त थापाको नाम एकल सिफारिस गरेर पठाएको छ । थापाले भने काठमाडौं–४ मै चुनाव लड्ने प्रस्ट पारिसकेका छन् ।

नेपाल रौतहटबाटै उठ्ने, क्षेत्र नं १ र ४ बाट नाम सिफारस

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि यसपटक रौतहटबाट चुनाव लड्ने भएका छन् । यसअघि ०७४ मा उनी काठमाडौं–२ बाट विजयी भएका थिए ।

यसपटक भने नेता नेपाल गृहजिल्ला रौतहटबाट उम्मेदवार बन्ने तयारीमा छन् । रौतहटका दुई वटा क्षेत्रबाट नेपालको नाम सिफारिस भएको छ । रौतहट क्षेत्र नं १ र क्षेत्र नं ४ बाट उम्मेदवारका लागि नेपालको नाम सिफारिस भएको छ ।

नेपाल ०५६ को आमनिर्वाचनमा यी दुवै क्षेत्रबाट निर्वाचित भएका थिए । ०६४ मा भने उनी काठमाडौं–२ र रौतहट–१ मा चुनाव लडे । दुवै ठाउँमा पराजित भए । नेता नेपालले ०७० मा रौतहट–१ बाट चुनाव जितेका थिए ।

आरजु राणाको माग पाँच जिल्लामा, डडेलधुराबाट समानुपातिकमा सिफारिस

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम पाँच जिल्लाबाट सिफारिस भएको छ । उनी ०७४ को निर्वाचनमा कैलाली–५ मा पराजित भएकी थिइन् । यसपटक पनि यहीबाट उनको नाम सर्वसम्मत सिफारिस भएको छ । तर, त्यसबाहेक डडेलधुरा, बाग्लुङ, बाँके र बर्दियाबाट समेत उम्मेदवारका लागि उनको नाम सिफारिस भएको छ ।

उनको गृहजिल्ला डडेलधुराबाट प्रत्यक्षतर्फ शेरबहादुर देउवाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ राणाको नाम सिफारिस भएको छ । त्यस्तै, बागलुङ–२ र बाँके–३ बाट पनि प्रत्यक्षतर्फ उम्मेदवारका लागि राणाको नाम सिफारिस भएको छ । स्थानीय नेता कार्यकर्ताले राणालाई आफ्नो क्षेत्रबाट उम्मेदवार बन्न आग्रह गरेका छन् ।

त्यस्तै, राणाको माइतीघर रहेको जिल्ला बर्दियाबाट पनि उनको नाम सिफारिस भएको छ । बर्दिया क्षेत्र नं। २ ले उनको नाम पठाएको हो । नेताहरूका अनुसार राणाले भने फेरि पनि कैलाली–५ बाटै उम्मेदवारी दिने तयारीमा छिन् ।

उपेन्द्र यादवको माग ६ क्षेत्रमा, फेरि चुनाव क्षेत्र फेर्लान् ?

जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव पनि निर्वाचन क्षेत्र फेरिरहने नेतामध्ये पर्छन् । उनी ०७४ मा सप्तरी–२ बाट निर्वाचित भएका थिए ।

यसपटक पनि उनी त्यहीँबाट सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस भएका छन् । तर, मोरङ–५, बारा–२, पर्सा–४, सिरहा–१ र २ बाट समेत उनको नाम सिफारिस भएको छ । पहिलो संविधानसभा चुनावमा उनी मोरङ ५ र सुनसरी ५ बाट उठेका थिए । त्यतिबेला दुवै क्षेत्रबाट जितेका थिए। २०७० को दोस्रो संविधानसभा चुनावमा पनि उनले त्यही क्षेत्र दोहोर्‍याए तर सुनसरीमा जिते, मोरङमा हारे ।

सप्तरी २ बाट यसपटक जनमत पार्टीका अध्यक्ष सीके राउतले समेत उठ्ने घोषणा गरेका छन् । राउतले यादवलाई भेटेर उक्त क्षेत्रमा आफूलाई सहयोग गर्नसमेत आग्रह गरिसकेका छन् ।

काठमाडौं ५ र नुवाकोट १ बाट महतको नाम सिफारिस

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको नामसमेत प्रत्यक्षतर्फ उम्मेदवारका लागि काठमाडौं र नुवाकोट गरी दुई क्षेत्रबाट सिफारिस भएको छ । विगतमा नुवाकोटदेखि चुनाव लड्दै आएका महत ०७४ मा भने काठमाडौं–५ बाट चुनाव लडेका थिए । यसपटक पनि काठमाडौं–५ बाटै उनको एकल नाम सिफारिस भएको छ ।

उता नुवाकोट–१ बाट पनि महतको नाम सिफारिस भएको छ । महतले भने पार्टीले उपयुक्त ठानेको अवस्थामा दुईमध्ये जुनै क्षेत्रमा पनि आफू उम्मेदवार हुन तयार रहेको बताए ।

उद्योगपति चौधरीको नाम तीन क्षेत्रबाट सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरी पनि यसपटक प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् ।

एमाले र कांग्रेसबाट गरी दुई पटक समानुपातिकतर्फ सांसद भइसकेका चौधरी गत मंसिरमा भएको कांग्रेस महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन् । उनी कांग्रेसबाटै चुनाव लड्ने तयारीमा छन् । कांग्रेसले तीन वटा क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि उनको नाम सिफारिस गरेको छ ।

नवलपरासी क्षेत्र नं १ र नवलपुर क्षेत्र नं १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि उनको नाम सिफारिस भएको हो । नवलपुर–१ नेता शशांक कोइरालाले चुनाव लड्दै आएको क्षेत्र हो ।

भूसाल रुपन्देहीका २ क्षेत्रमा सिफारिस

नेकपा एमालेका नेता घनश्याम भूसाल प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देहीका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । क्षेत्र नं १ र ३ को क्षेत्रीय कमिटीले सिफारिस गरे पनि जिल्ला कमिटीले नेता भूसाललाई कुन क्षेत्रबाट उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेता भूसाल रूपन्देहीको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । अहिले त्यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँणले पनि प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here