पुस २७ गते,जनकपुरधाम ।
शहिद पत्रकार उमा सिंहको १४ औं स्मृती दिवस मनाइएको छ । बुधवार नेपाल पत्रकार महासंघ धनुषा शाखाको आयोजनामा जनकपुरधामको जनकचौकमा दिप प्रज्वलन गरि शहिद उमा सिंहको स्मृती दिवस मनाइएको छ ।
सो अवसरमा वक्ताहरुले शहिद सिंह महिला भएर पनि एक निर्भिक, निडर र साहसिक पत्रकारिता गरिरहेकोमा नियोजित रुपमा हत्या गरिएको भन्दै दुःख व्यक्त गर्दै सिंहको स्मरण समेत गरेका छन् ।
त्यसै गरि जनकपुरियन लेडिजले समेत श्री जानकी मन्दिरको प्राङ्गणमा दिप प्रज्वलन गरि शहिद पत्रकार उमा सिंह प्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
सिंहको हत्यामा संलग्नहरु आममाफी पाउनु दुखद र समाजमा अपराधलाई बढाबा दिनु रहेको जानकी मन्दिरमाा बोल्दै अधिवक्ता तथा महिला मानवअधिकारकर्मी रेखा झाले ,यस्ता अपराधिहरुलाई कडा सजाय(आजिवन कारावास)को माग गर्नुभयो ।
कार्यक्रममा आरेक नेपाल धनुषाका संयोजक रोजलिन सिंह बछारले पत्रकार सिंहको नाममा महिलाहरुको समुहले कोष स्थाप्ना गरि कुनै विपन्न वा पत्रकारितामा राम्रो गर्नेलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न सुझाव दिनुभयो ।
जनकपुरधामको रेडियो टुडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुरधाम उपमहानगरपालिका १४ स्थित डेरामा खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको थियो । हत्या प्रकरणका मुख्य अभियुक्त स्वामी जी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाएको थियो ।
यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए । उमा सिंह हत्याको अभियोगमा सुशिला सिंहसमेतको जाहेरीले नेपाल सरकारवादी रहेको कर्तव्य ज्यान मुद्दामा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहाका श्रवणकुमार यादव, धनुषा लक्कडका नेमलाल पासवान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव लगायतविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
२०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतले ललिता सिंहलाई जन्म कैद र नेमलाल पासवानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो । प्रतिवादी भनिएका श्रवणकुमार यादवलाई सफाई दिइएको थियो उनी हाल सिरहा मिर्चैयाका मेयर समेत हुन ।