क्षेप्यास्त्र आक्रमणमा ४०० रुसी सैनिक मारिएका युक्रेनको दाबी

0
6

पुस १९ गत्ते,एजेन्सी।

युक्रेनले अतिक्रमित क्षेत्र दोनेत्स्कमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ४ सय रुसी सैनिक मारिएका बताएको छ ।दोनेत्स्कको मकिभ्का सहरस्थित रुसी सेनाको स्टेसनलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको युक्रेनी अधिकारीको दाबी छ ।

यद्यपि, मारिएका सैनिकको संख्या यकिन भइनसकेको बीबीसीले जनाएको छ । रुस पक्षधर अधिकारीहरूले भने संख्या उल्लेख नगरिकनै आक्रमणमा केही रुसी सैनिकले ज्यान गुमाएका बताएका छन् ।

दोनेत्स्क क्षेत्रका वरिष्ठ रुसी अधिकारी डानिल बेज्सोनोभले नयाँवर्ष सुरु भएको दुई मिनेटमै मकिभ्का सहरमा क्षेप्यास्त्र आक्रमणहरू गरिएको जनाएका छन् । उनले आक्रमणमा अमेरिकामा निर्मित ‘एमएलआरएस हिमार्स’ क्षेप्यास्त्रहरू प्रयोग गरिएको दाबी गरे ।

‘त्यहाँ कतिपयको ज्यान गुम्यो र केही घाइते भए । संख्या भने यकिन भइसकेको छैन,’ बेज्सोनोभले सामाजिक सञ्जाल टेलिग्राममार्फत जनाएका छन् । रुसी सञ्चारकर्मी तथा ब्लगर्सहरूले भने युक्रेनले दाबी गरेभन्दै निकै कम सैनिकको मात्र ज्यान गएको बताएका छन् । ‘केही संख्यामा सैनिकहरूको ज्यान गएको छ । तर ४ सय हाराहारी होइन,’ भ्लादिमिर सोलोभ्योभले लेखेका छन् ।

युक्रेनी सेनाले भने ४ सय रुसी सैनिकले ज्यान गुमाएका र ३ सय सर्वसाधारण घाइते भएको जनाएको छ । रुसी प्रशासनले भने उक्त क्षेत्रमा २५ वटा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।

मकिभ्का सहरमा गरिएको आक्रमणलगत्तै भने रुसले युक्रेनी राजधानी किभमा भीषण आक्रमण गरेको छ । किभको आकाशमा आइतबार रातभर रुसले क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती आक्रमणहरू विभिन्न भौतिक संरचनालाई लक्षित गरी भएका किभ क्षेत्रका गभर्नर ओलेक्सी कुलेवाको भनाइ छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले नयाँ वर्ष २०२३ मा युक्रेनले रुसविरुद्धको युद्धमा विजय हासिल गर्ने र सामान्य अवस्थामा फर्कने बताएको केही क्षणमा नै आक्रमणहरू भएका हुन् । नयाँवर्षका अवसरमा गरेको टेलिभिजन सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘रुसले आफ्नो सार्वभौमिकता र स्वतन्त्रताको संरक्षण गर्न’ लड्ने बताएका थिए ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठनको सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ देखि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी आक्रमणका कारण हजारौं युक्रेनी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अर्बौं डलर बराबरको भौतिक संरचना ध्वस्त भएको जनाइएको छ ।

आक्रमण सुरु गरेयता रुसले युक्रेनका विभिन्न क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको थियो । तर पछिल्लो समय कतिपय क्षेत्रहरू युक्रेनले फिर्ता लिएको छ । जसका कारण रुसी फौजले ऊर्जालगायत पूर्वाधारलाई केन्द्रित गरी आक्रमण गरेको युक्रेनी अधिकारीहरूको दाबी छ ।

पछिल्लो समय रुसले युक्रेनका प्रमुख सहरका विभिन्न संरचनालाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ । रुसी फौजले ऊर्जा केन्द्र लगायतका सार्वजनिक संरचनालाई लक्षित गर्दै आक्रमण बढाएको युक्रेनी अधिकारीहरूको भनाइ छ । जसका कारण लाखौं मानिसहरू चिसोमा कठ्यांग्रिन बाध्य भएका छन् । रुसी फौजका नियोजित आक्रमणलाई पश्चिमा देशले युद्धअपराधको संज्ञा दिएका छन् । तर रुसले भने ती आरोप अस्वीकार गर्दै आएको छ ।

पछिल्लो समय रुसलाई क्राइमियासँग जोड्ने पुलमा विस्फोट गराइएपछि आक्रामक बनेको रुसले युक्रेनका ऊर्जालगायत पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको हो । युक्रेन आक्रमणका लागि आवश्यक सैन्य हतियार ओसारपसारका लागि रुसले बाटो प्रयोग गर्दै आएका कारण उक्त पुललाई युक्रेनी फौजले निसानामा परेको हो ।

सन् २०१८ मा केर्च पुल मार्गको उद्घाटन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शताब्दीकै उत्कृष्ट संरचना’ भएको दाबी गरेका थिए । जसका कारण क्रुद्ध बनेका राष्ट्रपति पुटिनले युक्रेनमा देशव्यापी आक्रमणका लागि निर्देशन दिएको जनाइएको छ । आक्रमण सुरु गरेयता रुसले चारवटा क्षेत्रलाई भने आफूमा गाभेको छ । पाँच दिन लगाएर जनमतसंग्रह गरी रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई आफूमा गाभेको हो । रुसी अधिकारीहरूका अनुसार जनमतसंग्रहमार्फत ती क्षेत्रका अधिकांश युक्रेनीले रुसमा गाभिने पक्षमा मत दिएका थिए । उक्त कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने रुसी कदमको झल्को दिएको थियो । अमेरिका, युरोपेली संघलगायत पश्चिमा शक्तिले भने रुसले गरेको जनमतसंग्रह अवैधानिक घोषित गरेका थिए ।

रुसले सुरक्षाकर्मी र कर्मचारीमार्फत सर्वसाधारणलाई प्रभावित पारेको भन्दै जनमतसंग्रह औपचारिकता मात्रै भएको पश्चिमा देशहरूको दाबी छ । जसका कारण अमेरिका तथा युरोपेली संघले रुसविरुद्ध थप प्रतिबन्धहरू जारी गर्ने घोषणासमेत गरिसकेका छन् । नियन्त्रणमा लिएकामध्येको ठूलो सहर खेर्सनबाट भने रुसले दुई साताअघि सेना फिर्ता गरिसकेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here