सरकारमा सहभागिताबारे जसपा अनिर्णित

0
24

पुस १८ गत्ते,काठमाडौँ ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने÷नहुने निर्णय अझै गर्न सकेको छैन । पार्टीभित्र नेताहरूका फरक–फरक धारणा रहेका कारण जसपा निर्णयमा पुग्न नसकेको हो ।

अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानेबारे उति चासो देखाएका छैनन् । उनी आफैं सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका कारण प्रतिनिधिसभामा छैनन् । यादव विपक्षीमा बसेर पार्टीको शक्ति आर्जन गर्नुपर्ने पक्षमा देखिएका छन् । चुनाव जितेका बहुमत सांसदको जोड भने सरकारमा जानुपर्नेमा छ । सरकारकै विषयले पार्टी धेरै पटक टुटफुटमा गुज्रिएकाले यादवले आफ्नो चाहना जबर्जस्ती लागू गर्ने परिस्थिति नभएको एक नेता बताउँछन् ।

 

आमनिर्वाचनबाट जसपा खुम्चिएपछि पार्टी नेतृत्वप्रति नेता–कार्यकर्ताको असन्तुष्टि बढेको छ । नेतृत्व सत्ता स्वार्थमा केन्द्रित भएको र चुनावको संघारमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेका कारण क्षति पुगेको असन्तुष्ट नेताहरूको तर्क छ । अहिले विपक्षमै बसेर पार्टी सुदृढीकरणमा जानुपर्नेमा उनीहरूले जोड दिइरहेका छन् ।

जसपाका संसदीय दल नेता रामसहाय प्रसाद यादवले नागरिकता विधेयकलगायतका मुद्दामा सरकारको धारणा र शक्ति सन्तुलनको आधार हेरेर सत्तामा जानेरनजाने निर्णय लिइने बताए । ‘पार्टीको राजनीतिक समितिको बैठक सोमबार र मंगलबार बस्दै छ । त्यहाँ यस विषयमा गम्भीर छलफल र समीक्षा हुन्छ,’ उनले भने ।

सत्ता साझेदार दलहरूले सरकारको साझा न्यूनतम कार्यक्रम तयारीका लागि गठन गरेको समितिमा जसपाले नेता रकम चेम्जोङलाई प्रतिनिधित्व गराएको छ । पार्टी प्रवक्ता मनीष समुनले न्यूनतम साझा कार्यक्रम र शक्ति सन्तुलनमा कुरा मिले सरकारमा सहभागिता हुने बताए ।

शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारका पालामा संसद्का दुवै सदनले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोकेको विषयमा दाहाल सरकारको कस्तो धारणा रहन्छ भन्नेबारेमा जसपाको मुख्य चासो छ । नागरिकतासम्बन्धी कानुन नबनेकै कारण जन्मसिद्धका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान नागरिकताबाट वञ्चित छन् ।

जसपा प्रवक्ता मनीष सुमन सरकारले नागरिकतासम्बन्धी मुद्दा तत्काल सम्बोधन हुने गरी कार्यक्रम नल्याए सत्तामा नजाने बताउँछन् । उनले भने, ‘हाम्रा मुद्दा सम्बोधन नभए बाहिर बस्छौं । प्रधानमन्त्री दाहालले लिने विश्वासको मतका पक्षमा भने हामी उभिन्छौं ।’

अनौपचारिक तहमा जसपाले उपराष्ट्रपति र तीन मन्त्रालयमा दाबी गरेको छ । उपराष्ट्रपतिमा माओवादीको पनि दाबी छ । जसपाका संसदीय दल नेता यादवले भने मन्त्रालय भागबन्डाका विषयमा अहिले कुरै नभएको दाबी गरे ।

कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here