सत्ता गठबन्धन टुटेसँगै प्रदेशमा बन्ने सरकारको समीकरण पनि फेरबदल

0
7

पुस १० गत्ते,काठमाडौं।

संघमा रहेको मौजुदा सत्ता गठबन्धन टुटेसँगै प्रदेशमा बन्ने सरकारको समीकरण पनि फेरबदल भएको छ। अब प्रदेशमा बन्ने सरकारहरुमा कांग्रेसको नेतृत्व लगभग असम्भव जस्तो देखिएको छ। संघ र ७ वटा प्रदेशसहित कांग्रेस ८ वटै सरकारमा नरहने भएको छ।

संघमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बनेसँगै प्रदेशमा बन्ने सरकारको समीकरणमा फेरबदल आएको हो।

प्रदेश १ मा एमाले–माओवादी केन्द्र गठबन्धन दुई तिहाइ नजिकको बहुमतमा

९३ सदस्य रहेको प्रदेश १ मा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। यो प्रदेशमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसद सहित करिब दुई तिहाइ नजिकको सरकार बन्ने भएको छ। केन्द्रमा बनेको नयाँ गठबन्धनमा एकीकृत समाजवादी नरहेकोले यसका ४ सांसद सहित नेपाली कांग्रेसका २९ सांसद प्रतिपक्षमा रहने देखिन्छ।

मधेस प्रदेशमा एमाले–माओवादी–जसपा सहितको गठबन्धनलाई स्पष्ट बहुमत

१०७ सांसद रहेको मधेस प्रदेशमा सरकार बन्न ५४ सांसद संख्या आवश्यक रहन्छ। यो प्रदेशमा एमालेका २३, माओवादी केन्द्रका ८, राप्रपाका १, जसपाका १६, जनमत पार्टीका १३, नागरिक उन्मुक्तिका १ सांसद सहित ६२ सांसद रहेको बहुमतको सरकार बन्ने भएको छ। यो प्रदेशमा कांग्रेसका २२, एकीकृत समाजवादीका ७, लोसपाका ९, संघीय समाजवादीका १ र स्वतन्त्रबाट ६ सांसद रहेका छन्।

बागमती प्रदेशमा एमाले–माओवादी–राप्रपाको सुविधाजनक बहुमत

११० सांसद रहेको यो प्रदेशमा सरकार गठनका लागि ५६ सांसद संख्या आवश्यक रहेको छ। एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसदसहित सुविधाजनक बहुमतको सरकार बन्ने भएको छ। यो प्रदेशमा कांग्रेसका ३७, एकीकृत समाजावदीका ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्।

गण्डकीमा एमाले–माओवादी केन्द्र–राप्रपालाई झिनो बहुमत

६० सांसद रहेको यो प्रदेशमा सरकार बन्नका लागि ३१ सांसद आवश्यक पर्छ। एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ सहित स्पष्ट बहुमतको सरकार बन्ने भएको छ। यो प्रदेशमा कांग्रेसका २७ र स्वतन्त्र १ सांसद रहेका छन्। ठूलो पार्टी रहेको कांग्रेस यो प्रदेशमा पनि प्रतिपक्षी बेञ्चमा पुगेको छ।

लुम्बिनी प्रेदशमा एमाले–माओवादी गठबन्धनलाई स्पष्ट बहुमत

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसद संख्या आवश्यक पर्छ। २९ सांसदसहित एमाले पहिलो दल, माओवादी केन्द्रका ८ सांसद, राप्रपाका ४ सांसद, जसपाका ३ सांसद, जनमत पार्टीका ३ सांसद, नागरिक उन्मुक्तिबाट ४ सांसद सहितको गठबन्धन सरकार बन्ने भएको छ। प्रतिपक्षीमा रहने कांग्रेसका २८ सांसद, एकीकृत समाजवादी १ सांसद, लोसपाका ३ सांसद, राजमोका १ सांसद र स्वतन्त्रबाट ३ सांसद रहेका छन्।

कर्णली प्रदेशमा एमाले–माओवादीकै स्पष्ट बहुमत

४० सांसद रहेको यो प्रदेशमा सरकार गठनका लागि २१ सांसद संख्या आवश्यक पर्छ। एमालेका १० सांसद, माओवादी केन्द्रका १३ सांसद, राप्रपाका १ सांसदसहित स्पष्ट बहुमतको सरकार बन्ने देखिन्छ। कर्णालीमा कांग्रेसका १४ र स्वतन्त्रबाट १ सांसद रहेका छन्।

सुदुरपश्चिम प्रदेशमा एमाले–माओवादी केन्द्र गठबन्धनलाई स्पष्ट बहुमत सहितको सरकार

५३ सांसद रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद आयश्यक पर्छ। यो प्रदेशमा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, राप्रपाका १ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सहितको स्पष्ट बहुमतको सरकार बन्ने भएको छ। कांग्रेसका १९ सांसद, एकीकृत समाजवादीका ४ सांसद र १ स्वतन्त्र सांसद प्रतिपक्षमा रहने छन्।

कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here