मानव अधिकारको सवालमा प्रदेश सरकार गम्भीरः मन्त्री साह

0
13

मंसिर २५ गते,जनकपुर ।
मानव अधिकारको रक्षाका लागि सबै पक्षले आ–आफ्नो कर्तव्य एवं दायित्व इमानदारीपूर्वक पालना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले सो कुरामा जोड दिनुभएको हो ।

“सबैको लागि मर्यादा, स्वतन्त्रता र न्याय” सम्बन्धी मूल नारासहित भएको कार्यक्रममा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मानव अधिकारको सवालमा मधेश प्रदेश सरकार गम्भीर एवं सजग भएको बताउनुभयो । उहाँले मानव अधिकारको मूलभूत मान्यता तथा सिद्धान्तको पालना गर्न सबै पक्षसँग प्रदेश सरकार हातेमालो गरी अघि बढ्न चाहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री साहले सत्य निरुपण तथा मेलमिलाप आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कतिको कार्यान्वयन भयो वा भएन त्यसको आत्मसमीक्षा गर्न जरुरी रहेको बताउनुभयो ।

नेकपा एमालेका तर्फबाट नवनिर्वाचित प्रदेश सभाका सदस्य शारदा देवी थापाले मानव अधिकारको स्थापनाका लागि अधिकारसँगै कर्तव्यको ख्याल गर्न जरुरी रहेको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित प्रदेश सभाका सदस्य रामअशिष यादवले मानव अधिकारको रक्षाका लागि मानव अधिकार रक्षाको अग्रपङ्क्ति रहने मानव अधिकारकर्मी तथा पत्रकारहरूको सुरक्षा आवश्यक भएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मानव अधिकारको रक्षाबिना मुलुकको विकास तथा समृद्धिको जनचाहना पुरा गर्न कठिन हुने बताउँदै जनकपुरधाम उपमहानगरपालिकालाई मानव अधिकारमैत्री नगर बनाउने पक्षमा आफू रहेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले मुलुकको समृद्धि र विकासका लागि मानव अधिकारको अवस्था राम्रो हुन जरुरी रहेको बताउनुभयो ।

रेडियो नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here