मंसिर ८ गत्ते,जनकपुरधाम ।
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन फुलबारी लिला हुने भएको छ ।
सात दिनसम्म मनाईने विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शनले प्रारम्भ हुन्छ । आज फुलबारी लिला विवाहमण्डपको बगैंचामा हुने जानकी मन्दिर स्रोतले जनाएको छ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
तेस्रो दिन भोलि शुक्रबार धनुष यज्ञ, चौथो दिन मंसिर १० गते तीलकोत्सव, मंसिर ११ गते मटकोर र मंसिर १२ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी जन्तीको विदाई गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत समापन हुने उनले बताए ।
यसपटक विवाहपञ्चमी महोत्सवमा भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने कार्यक्रम रहेको छ । प्रमुख अतिथिको रुपमा उनी मंसिर ११ र १२ गते सहभागी हुने कार्यक्रम रहेकाले विशेष रुपले विवाहपञ्चमी मनाइने सह महन्त दासले बताए ।