कार्तिक १९ गत्ते,जनकपुरधाम ।
निर्वाचन आयोगले आचारसंहिताको उल्लङ्घनकर्ता माथि यस पटक कडा रुपमा कारबाही प्रक्रिया अगाडि बढाएको निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर राणाले बताएका छन ।
निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालको भूमिका” विषय कार्यक्रममा आयुक्त राणाले चुनावको प्रचारप्रसारमा हुने गरेको खर्चको जिल्ला जिल्लामा अनुगमन गर्नका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई अधिकार दिएको बताए ।
उहाँले इलेकट्रोनिक्स भोटिङ मेसिनमार्फत मतदान गराउनका लागि योजना सहितको खरिद गर्नमा लाग्ने खर्चको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा आयोगका पूर्व सचिव वेगेन्द्रराज शर्माले विगतभन्दा यस पटकको निर्वाचनमा आचारसंहितामा कडाइ गरेका कारणले आचारसंहिताको उल्लङ्घन कमै मात्रामा भएको बताए ।
निर्वाचन आयोगका सह–सचिव देवेन्द्रराज शर्मा पौडेलले धनुषाको प्रतिनिधिसभा तर्फ २९ लाख, प्रदेशसभाको धनुषा निर्वाचन क्षेत्र नंं ३ को ख मा १५ लाख र बाँकी रहेको प्रदेशसभाको निर्वाचन क्षेत्र बढीमा १७ लाख खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले निर्वाचनलाई मर्यादित बनाउनका लागि राजनीतिक दलले नै बनाएको कानूनको आधारमा बनेको आचारसंहिता अनुसार कारबाही गर्न बाध्य हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी भएका अन्य वक्ताहरूले निर्वाचन आचारसंहिताको पालना गराउनका लागि आचारसंहिता उल्लङ्घन गर्ने ठूला दलका एक जना ठूला नेताको उम्मेदवारी रद्द गरे सबैले पालना गर्न बाध्य हुने बताउनुभएको थियो ।
वक्ताहरूले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा मर्यादित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन अहिले पनि भइरहेको बताउँदै धनुषामा नै छठ पर्वको आडमा ठूला दलका नेताले साडी वितरण गरेकाले प्रमाण सहितको समाचार आए पनि आयोगले किन कारबाही नगरेको भनी प्रश्न समेत गरेका थिए ।