कार्तिक १३ गते ,जनकपुरधाम।
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व सुरु भएको छ।
यो पर्व शनिबार पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ।दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन्।
आजको दिन बिहानै दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन्। सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर रङ्गीचङ्गी बनाइन्छ। रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म चेलीबेटीहरुले सामा चकेवा खेल्ने गर्दछन।
एघारौँ दिनमा बिहानै दिदीबहिनीले पुनः सामा चकेवा बनाएर रङ्गरोगन गरी बेलुका दही चिउरा खुवाउँछन र त्यसबटै दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर बाजागाजासहित गाउँको नजिक जोतिएको खेतमा लगेर विसर्जन गर्दछन्।
मिथिलाञ्चलकी हरेक दिदीबहिनीहरुले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमा गएर मनाउने इच्छा गर्ने भएकाले टाढाटाढाका दिदीबहिनीहरु पनि माइत जाने गर्दछन्।
अन्य पर्वजस्तै भाइबहिनीको प्रेमको प्रतीक मानिएको यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी हुनेहरुका लागि निकै महत्वपूर्ण मानिन्छ। यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीहरुसँग मनाउने गर्दछन्।
सामा चकेवा खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप तराईको धनुषा,महोत्तरी, सर्लाही, सिरहा, , सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लाहरुमा यो पर्व हर्षोल्लासका साथ मनाइने गरिन्छ।