कातिक ११ गते,जनकपुरधाम।
तराई मधेशमा आजदेखि छठपर्व विधिवत सुरु भएको छ । चारदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठको पहिलोदिन आज ‘नहायखाय’ गरिएको छ ।
आजको दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । भोलि दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।
त्यस्तै तेस्रो मूलदिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर ,सुयैदृवलाई अर्घ दिइन्छ। चौथो दिन सोमबार’विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्व विधिवत समापन हुनेछ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार,बैगन अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । यस पर्वलाई कृषिसँग जोडिएकाले किसानले उबजाएको तरकारी तथा फलको अर्घ दिने गरिन्छ ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई सृंगारिने काम भइरहेको छ ।
खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।
अस्ताउँदो र उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ ।