कार्तिक १० गत्ते,जनकपुरधाम ।
जनकपुरधामसहित मिथिलाञ्चलमा आज ‘भरदुतिया’ पर्व मनाइएको छ ।
यमपञ्चक अर्थात् दीपावलीको पाँचौं दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहेको छ ।
सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा ६ दिनको भएको छ ।
भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छन् । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै पाइन्छ । सत्ययुगमा राजा बलिका बहिनी गंगाा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको हो ।
मैथिल परम्पराको ‘भरदुतिया’ पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार ९पानीमा घोलिएको अरवा चामलको पिठोले अरिपन ‘चतुष्कोण घेरा’ बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् ।
टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर धुने गरिन्छ । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले पिठारको टिका,चन्दन,सप्तरङ्गी टीका लगाइदिने परम्परा रहेकोछ । हत्केलामा राखिएको पानको पात,सुपारी,अंकुरी र सिक्कालाई पानीले पखाल्दै बहिनिले ‘गंगा नौते यमुनाके,हम नौतै छी अपना भाइके,जेना गंगा यमुनाक धार बहे,तहिना हम्मर भाइके औरदा बढे’ मन्त्र ३ पटक उच्चारण गरी भाइलाई मिष्ठान खुवाएर,कोसेली दिने र भाइले पनि बहिनीलाइ कोसेली दिने चलन रहेको छ ।