अज्ञात समूहद्वारा सर्लाहीका एक व्यवशायीको हत्या

0
18

आश्विन ४ गत्ते,जनकपुरधाम ।
सर्लाहीका एक व्यवशायीको काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गोली हानी हत्या भएको छ ।

गार्मेन्ट व्यवसायी (तयारी पोसाक र झोला बनाउने फ्याक्ट्री)का सञ्चालक सर्लाहीका लाल मोहम्मद अन्सारीलाई अज्ञात समूहले टाउको, छाती र पेटमा गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकृतले बताए ।

सोमबार साँझ गोली लागी घाइते उनलाई सुरुमा शंखरापुर अस्पतालमा लगिएको थियो । सो अस्पतालमा उपचार नभएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा केही बेरमा चिकित्सकले मृत घोषणा गरेका थिए । बा ६ च ५१५२ नम्बरको मोटर चढेर आएका मोहम्मदलाई गोठाटारको जम्बुडाँडामा रहेको उनको गार्मेन्ट फ्याक्ट्री अघि सोमबार गोली प्रहार गरिएको थियो । गोली हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्नसकेको छैन ।

मृतक अन्सारी सर्लाहीको गौडैता नगरपालिका १० मनहरवाका स्थायी बासिन्दा हुन् । केही वर्षअघि परिवारका साथ काठमाडौंमा बस्दै आएका अन्सारीको विगत भने आपराधिक पृष्ठभूमि रहेको देखिन्छ ।

यद्यपी उनको व्यस्त सडकमा अपरिचित समूह हत्या गरि फरार हुनुले हत्या र गोलीकाण्डका पुराना शृंखलालाई ताजा बनाइदिएको छ । हत्या गरिएका ५७ वर्षिय अन्सारी करिब ९ वर्ष जेल बसेर ६ वर्षअघि रिहा भएका थिए । जाली नोट र कर्तव्य ज्यान मुद्दामा जोडिएका उनी २०६४ साउन ९ गते जेलमा ८ वर्ष ७ महिना बसेर छुटेका थिए । लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजी लगायत उपनामले उनी चिनिएका थिए । उनी व्यक्ति हत्या र जालीनोटको कारोबारमा कैद सजाय भुक्तान गरि २०७३ जेठ २५ मा केन्द्रीय कारागारबाट छुटेका थिए ।

नक्कली भारतीय रुपैयाको कारोबारमा मुछिएका उनी कुमार श्रीवास्तव भन्ने व्यक्तिसँग सम्पर्कमा रहेका उनीसँगै २ पटक बंगलादेश गएका थिए । बंगलादेशबाट फर्केपछि अन्सारी पक्राउ परेका थिए । उनीसँग सम्पर्कमा रहेका पाकिस्तानी नागरिक एजाजसँग पनि उनको राम्रो सम्बन्ध रहेको स्रोतले बताउँछ । जेलपछि आफ्नो स्वार्थ नमिलेपछि अन्तर्राष्ट्रिय गिरोहले अन्सारीमाथि निसाना साँधेको हुनसक्ने स्रोतको भनाइ छ ।प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावका लागि सरकारले सुरक्षा व्यवस्था चुस्त बनाएको दाबी गरिरहँदा राजधानीमै गोली प्रहार गरि हत्या भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here