पाकिस्तानमा बाढीले ३७ को मृत्यु,९२ जना घाइते

0
11

आश्विन १, एजेन्सी

पाकिस्तानका विभिन्न स्थानमा शनिबारको मुसलधारे वर्षापछि आएको बाढीले कम्तीमा ३७ जनाको मृत्यु भएको छ । ९२ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमा १६ जना बालबालिका र ७ महिला छन् ।

पाकिस्तानका विभिन्न स्थानमा जुन मध्यदेखि सुरु भएको भीषण वर्षासँगैको बाढीका कारण कम्तीमा १ हजार ५ सय ४५ जनाको मृत्यु भइसकेको छ । १२ हजार ८ सयभन्दा बढी घाइते भएका जनाइएको छ ।

बाढीका कारण ३५ लाख मानिस प्रभावित हुनुका साथै १९ लाख २० हजार घर ध्वस्त भएका अधिकारीहरूको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरण गरिरहेका भए पनि त्यो निकै अपुग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बाढीपछि देशव्यापी रूपमा डेंगुको प्रकोप बढेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । त्यसका साथै, औलो र ग्यास्ट्रिकको संक्रमण पनि बढेको छ । जसका कारण स्वास्थ्य संकट उत्पन्न हुन सक्ने उनीहरूको चेतावनी छ । बाढीले विस्थापित भएकामध्ये अधिकांश जमेको पानीको वरपरका स्थानमा आश्रय लिएकाले जोखिम थप बढेको जनाइएको छ ।

सिन्ध प्रान्तमा ३ हजार ८ सय ३० जनामा डेंगु संक्रमण देखिएको र तीमध्ये ९ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानमा भीषण वर्षासँगै बाढी आएको दुई महिनाभन्दा लामो समय भइसकेको छ । तर पनि हजारौं गाउँहरू अझै डुबानमा रहेका अधिकारीहरूको भनाइ छ । जसका कारण विस्थापित परिवारहरूको पुनस्स्थापना गर्न समस्या देखिएको छ । बाढीपछि दुर्गम स्थानहरूमा पिउने पानीको समेत चरम अभाव देखिएको छ ।

बाढीका कारण सिन्ध, बलुचिस्तान, गिलगिट, बाल्टिस्तान, खैबर पख्तुनख्वा र पन्जाव प्रान्त बढी प्रभावित भएका एनडीएमएले जनाएको छ । बाढीको विनाशका कारण १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here