भदौ २४ गत्ते,जनकपुरधाम ।
मिथिलाञ्चलमा शुक्रवार (आज) भगवान् विष्णुको बिशेष पूजा अर्चना गरी अनन्त चतुर्दशी पर्व मनाइदै छ । मैथिली समुदायमा असोज महिनाको शुक्ल चतुर्दशी तिथिमा अनन्त चतुर्दशी पर्व मनाउने परम्परा छ ।
घरमा जति सदस्य छन्, त्यतिवटा भगबान विष्णु १४ नामको १४ वटा गाँठ दिएर धागोले बनाईएको अनन्त र प्रसादी बोकेर पूजा हुने पुजा स्थलमा जाने छिमेकी, आफन्तहरू मिलेर सामूहिक रूपमा पूजा गरेर अनन्त बाँध्ने गरीन्छ ।
किंवदन्तीका अनुसार सत्य युगमा अमृतको खोजी गर्नका लागि समुद्र मन्थन गरिएको थियो । मन्थन गर्ने क्रममा अमृत सहित १४ रत्न फेला परेको दिनदेखि अनन्त पूजा गर्ने र हातको पाखुरामा अनन्त बाँध्ने चलन रहेको जानकारहरु बताउँछन् ।
१४ वटा रत्नको प्रतीकका रूपमा १४ वटा धागोले बनाइएको अनन्त महिलाले देब्रे र पुरुषले दाहिने हातको पाखुरामा वर्षभरि रक्षाका लागि लगाउने चलन रहेको पण्डितहरु बताउँछन् ।
अनन्त भनेको कहिल्यै अन्त्य नहुने हो अर्थात् भगवान विष्णु ,आजको दिनमा घरमा सत्यनारायण भगवानको पुजा पनि लगाइन्छ ।