भदौ १६ गत्ते, काठमाडौँ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आगामी निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट उठ्ने विषयमा निश्चित भएको छैन ।
२०७४ को प्रतिनिधिसभाको चुनावमा सप्तरीबाटै जितेका यादवले आगामी चुनाव भने कहाँबाट लड्ने निश्चित नभएको बताए । ‘पार्टीले अहिलेसम्म निणर्य गरेको छैन,’ उनले भने,‘सप्तरीबाट सम्भावना कमै छ ।’
सप्तरीमा विगतको जस्तो चुनाव जित्ने सम्भावना नदेखेपछि यादवले ठाउँ फेर्नु परेको केही नेता बताउँछन् । सप्तरीमा यादवको छवि कमजोर हुँदै गएको जसपाको आकलन छ ।
अध्यक्ष यादव आफैले भने आफ्नो दलको जनाधार रहेका सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि नाम सिफारिस गराएका हुन् । सिरहा र बारामा दुई–दुईवटा क्षेत्रबाटै उनको नाम सिफारिस भएको छ ।
पार्टीमा देखिएको टुटफुटको असरले पनि यादवले सप्तरी छाड्न चाहेको बताइन्छ । यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतले यादवलाई भेटेर सप्तरी २ आफूलाई छाड्न आग्रह गरेका थिए ।
जनमतका महासचिव चन्दन सिंह यादव उक्त आग्रहमा सकारात्मक रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले उहाँलाई सप्तरी २ छाड्न आग्रह गरेका हौं । उहाँ पनि सकारात्मक हुनुहुन्छ ।’
यादव राजनीतिका यस्ता पात्र हुन्, जसले हरेक निर्वाचनमा जिल्ला र क्षेत्र फेरेका छन् । पहिलो संविधानसभाको निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादवले दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरीबाट विजयी भएका थिए । ०७४ को निर्वाचनमा उनी सप्तरी आए । सप्तरीको निर्वाचन क्षेत्र नं।२ बाट उनले प्रतिनीधिसभा सदस्यमा चुनाव जिते । मधेस आन्दोलनको जगमा उदाएका नेता यादवको सप्तरी–२ बाटै जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि उम्मेदवारी दिने घोषणा गरेपछि यादव ‘दोधार’ मा छन् ।
यसअघि २०७४ सालको चुनावमा सप्तरी २ मा उपेन्द्र यादवले माओवादी केन्द्रका उमेशकुमार यादवलाई हराएका थिए । उपेन्द्रले २१ हजार ६सय २० मत ल्याउँदा उमेशले ११ हजार ५ सय ८० मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५८ मत ल्याएका थिए ।
यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका जयप्रकाश ठाकुर यस पटक लोकतान्त्रिक समाजवादी पार्टीबाट उठ्ने तयारीमा रहेका छन् ।