भदौ १६ गत्ते,काठमाण्डौ ।
जनता टेलीभिजनले समस्या समाधान गर्ने सहमती जनाए संगै नेपाल पत्रकार महासंको घोषित संघर्षको कार्यक्रम स्थगित गरिएको छ ।
नेपाल पत्रकार महासंघले विभिन्न संचार गृहमा देखिएको श्रम समस्या समाधानका लागि पटक पटक गरेको आग्रह संचार गृहहरुले सुनुवाई नगरेपछि संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
घोषित कार्यक्रम अनुसार भदौ १६ गते दिउँसो १२ बजे देखी १ बजे सम्म जनता टेलिभिजनमा धर्नाको कार्यक्रम रहेकोमा जनता प्रशारण तथा प्रकाशन लिमिटेड र नेपाल पत्रकार महासंघ विच समस्या समाधानका लागि सहमती भएपछि संघर्षको कार्यक्रम रोकिएको नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले जानकारी दिनुभएको छ ।
जनता प्रशारण तथा प्रकाशन लिमिटेडको तर्फबाट प्रशासन प्रमुख सन्दिप पौडेल, नेपाल पत्रकार महासंघको तर्फबाट उपाध्यक्ष उदय जिएम र जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्त, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण अधिकारीले सहमती पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सहमती पत्रमा श्रमजीवी पत्रकारले विगत देखी पाउनुपर्ने रकम भदौ मसान्त भित्र उपलब्ध गराउने र आगामी दिनमा नियमित रुपमा उपलब्ध गराउने सहमती भएको छ ।
जनता टेलिभिजन, जनता रेडियो र जनता समाचार डट कममा विगतमा काम गरेको तर पाउनुपर्ने पारिश्रमिक तथा सेवा सुविधा नपाएका पत्रकारको सन्दर्भमा सहमती अनुसार चेक मार्फत भुक्तानी दिन ब्यबस्थापन पक्ष तयार भएको छ ।
संस्थामा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक नपुगेको हकमा पत्रकार एेनले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिन पनि ब्यबस्थापन पक्ष सहमत भएको छ भने नेपाल पत्रकार महासंघले घोषित कार्यक्रम फिर्ता लिन सहमत भएको हो ।