भदौ ८ गत्ते,काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काइदिएको छ। बुधबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काइदिएको हो ।
ती संरचना भत्काउने क्रममा मेयर शाहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरीको टोली खटिएका थिए । यसअघि महानगरको टोलीले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना पनि भत्काइदिएको छ । बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो । यस्तै सोमबार पनि महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काउन थालेको हो ।
त्यस्तै काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।
महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यले भने,ुहामीले काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटाएका छैनौं । नक्सा पासको विवरण पठाउन भनेर पत्र काटेका छौं । ु
महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।