भाद्र ७ गत्ते, एजेन्सी ।
जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा पाहुना टोली भारतले क्लिन स्वीप गरेको छ । सोमबारराति भएको तेस्रो एकदिवसीय खेलमा भारतले जिम्बावेलाई १३ रनले हरायो ।
जितका लागि २ सय ९० रनको लक्ष्य पछ्याएको जिम्बावे ४९ ओभर ३ बलमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले १ सय १५ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । उनको एकदिवसीय क्रिकेटमा पाँचौँ शतक हो । भारतका आवेश खानले ३ विकेट लिए ।
दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले २र२ विकेट लिए । त्यसअघि हरारेमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले शुभमन गिलको शतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८९ रन बनाएको थियो । गिलले सर्वाधिक १ सय ३० रनको शतकीय पारी खेले ।
सिनियर टोलीबाट गिलको यो पहिलो शतक हो । जिम्बावेका ब्राड इभान्सले ५ विकेट लिए । भारत पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।