काठमाडौंमा बन्दको प्रभाव न्यून,१९ जना पक्राउ,दाङमा टिप्परमाथि आगजनी

0
15

भाद्र ७ गत्ते,काठमाडौं ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु आवतजावत भइरहेका छन्। यद्यपि सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा (निर्वाध) चलिरहेको जानकारी दिएको छ।

मंगलबार बिहानैदेखि उपत्यकाका प्रमुख सडक र चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ। मंगलबार विहान बन्द गराउँदै हिँड्न खोज्ने केहीलाई भने प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यकामा बन्द गराउँदै हिड्ने तथा गाडीमाथि तोडफोड गर्न खोज्ने १९ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

केही जिल्लाम बन्दकर्ताले शंकास्पद बस्तु राखेका छन् भने दाङमा एउटा टिपरमाथि नै आगजनी भएको छ। यद्यपि दाङमा टिपरमाथि भएको आगजनीमा बन्दकर्ताको संलग्नता रहेको विषय भने पुष्टि हुन सकेको छैन।

दाङको घोराही उपमहानगरपालिका–३ बबइ पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

मंगलबार बिहान ५ बजे आगलागी भएको घटना थाहा पाएर घटनास्थलमा पुगेको प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ।

नेपाल बन्दको घोषणा गरेको विप्लव नेकपाका दाङ जिल्ला इञ्चार्ज शितललाई सम्पर्क गर्दा उक्त घटनामा आफूहरुको हात नरहेको बताएका छन्। घटना शंकास्पद रहेको भन्दै प्रहरीले टिपरका चालकलाई नियन्त्रणमा लिएको छ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेतारकार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो।

विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन्। अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here