आज कृष्ण जन्माष्टमी,पुजापाठ गरि मनाइदै,जनमाष्टमीको अवसरमा सार्वजनिक बिदा

0
15

भदौ ३,जनकपुरधाम ।

आज कृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाईंदै छ । ।भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।

ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ ।

मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं पुत्रको रुपमा विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको अनुमान छ ।

जनकपुरधामको रेल्वे स्टेशनमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लाग्ने गर्दछ ।
आज र भोली दुई दिन गरी स्टेशनमा भगवान कृष्णको प्रतिमा बनाई पुजापाठ गरिन्छ भने विषहारा चोकमा अवस्थित राधाकृष्ण मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । त्यस्तै आज ललितपुरको पाटनमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्छ । यसैगरी काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भिड लाग्छ । आज काठमाण्डौका विभिन्न ठाउँमा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

‘श्रीकृष्ण जन्माष्टमी’का अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण अष्टमीले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिनुभएको छ । उहाँले सन्देश निकालेर यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here