साउन ३१ गते,काठमाडौँ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १ लाख २३ हजार ७ सय ८३ उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु भएको हो ।
आयोगले मंगलबार विज्ञप्ति जारी गरेर स्थानीय तह निर्वाचनमा गरेको खर्च नबुझाउने र तोकिएको समयभन्दा ढिलो बुझाउने उम्मेदवारलाई कारबाही गर्ने प्रक्रिया थालेको हो ।
’स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलोगरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६५२ जना समेत कूल जम्मा १ लाख २३ हजार ७८३ जना उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईँहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भनी आफ्नो सफाई सहितको स्पष्टीकरण ७ (सात) दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले आदेश दिएको छ,’ आयोगका प्रवक्ताले भने ।
चुनावमा गरेको खर्चको विवरण आयोगले तोकेको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।